एसिया कपको अन्तिम तयारीमा नेपाल, पहिलो खेलमा पाकिस्तानसँग स्पर्धा

 

एसिया कपको अन्तिम तयारीमा नेपाल, पहिलो खेलमा पाकिस्तानसँग स्पर्धा

काठमाडौं । यूएईमा भोलि (शुक्रबार) सुरु हुने अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपालको प्रदर्शन कस्तो होला ? आमनेपाली समर्थकको चासो छ । उमेर समूहको टिम र प्रदर्शनले भावी राष्ट्रिय टिमको पनि संकेत गर्ने भएकाले यो प्रतियोगितालाई महत्त्वसाथ हेरिएको हो । सिनियर टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्यो । अहिले युवा टिमले पनि भारत र पाकिस्तानसँगै प्रतिस्पर्धा गर्दै छ ।

भारत र पाकिस्तानविरुद्ध खेलिने जुनसुकै खेलले नेपाली समर्थकलाई निकै उत्साही बनाउँछ । शुक्रबारबाट सुरु हुने एसीसी अन्डर नाइन्टिन एसिया कपमा नेपालले भारत, पाकिस्तान र अफगानस्तिानसँग खेल्नेछ । उमेर समूहमा नेपालले यी टोलीविरुद्ध धेरैपटक खेलिसकेको छ । तर पूर्ण सदस्य टोलीहरु र नेपाली क्रिकेटबीचको खाडल भने अत्यन्त ठूलो छ । भारत र पाकिस्तान क्रिकेटका महाशक्ति हुन् भने अफगानस्तिान उदीयमान टेस्ट टोली ।

एसिया कपमा नेपाल- भारतसँग ४, पाकिस्तानसँग २ र अफगानिस्तानसँग १ पटक पराजित भएको छ । समग्रमा नेपालले अन्डर नाइन्टिनमा भारतसँग ७ खेलमा १ जित र ६ हार, पाकिस्तानसँग ४ खेलमा १ जित र ३ हार र अफगानिस्तानसँग ९ मध्ये २ जित र ७ हार बेहोरेको छ ।

नेपाललाई पराजित गर्ने तीनवटै टोलीका खेलाडीले हाल आ- आफ्नो राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्छन् । २०१२ को एसिया कपमा नेपालविरुद्ध खेलेका बाबर अजाम पाकिस्तानका पूर्वकप्तान हुन् । इमाम उल हक, महोमद नवाज र साउद सकिलले पनि सोही वर्ष नेपालविरुद्ध अन्डर १९ एसिया कप खेलेका थिए ।

भारतका कुलदीप यादव, दीपक हुड्डा, श्रेयश ऐय्यर र सञ्जु स्यामसनले २०१२ मा नेपालविरुद्ध खेलेका थिए । २०१३-१४ को संस्करण खेलेका शुभमन गिल, पृथ्वी शा र कमलेश नगरकोटी तथा २०१८ मा खेलेका यशस्वी जैसवाल र देवदत्त पडिकल भारतीय क्रिकेटका नयाँ र भरपर्दा खेलाडी हुन् ।

हाल अफगानिस्तानको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने धेरै खेलाडीसँग नेपालले उमेर समूहमा खेलिसकेको छ । नेपालको सिनियर टोलीमा पनि २०१४ पछि अन्डर नाइन्टिन खेलेका खेलाडीहरुको संख्या अधिक छ ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको जगत टमाटाको टोली भारत, पाकिस्तान र अफगानिस्तानविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ । ब्याटिङ, बलिङ र फिल्डिङमा निकै सन्तुलित नेपाली युवा टोली ७ पटकको च्याम्पियन भारत, १ पटकको विजेता अफगानिस्तान र पहिलो उपाधिको खोजीमा रहेको पाकिस्तानलाई परास्त गर्ने योजनामा छ ।

एसीसी अन्डर नाइन्टिन एसिया कप : नेपाल-पाकिस्तानबीच प्रतिस्पर्धा


Comments