आइपिएल टिमलाई मोन्टीले भने– नेपाली क्रिकेटलाई बुझ्न एकपटक नेपाल भ्रमण गर्नुहोस्


इण्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिगमा पर्छ । यो लिग खेल्न विश्व क्रिकेटका ठूला–ठूला स्टार पनि लालायित हुन्छन् । 


नामसँगै दाम पनि राम्रो पाइने भएकाले आइपिएल धेरै क्रिकेटरको सपना बनिरहेको छ । आइपिएलमा डेब्यूपछि धेरै खेलाडीको जीवनशैली नै परिवर्तन भएको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि आइपिएल खेलिसकेका छन् । 

आइपिएलमा डेब्यूपछि उनले विश्वका अन्य प्रतिष्ठित लिगमा पनि मौका पाए । जहाँ सन्दीपले नामका साथै दाम कमाए । उनले आफूले खेलेका प्रायः विदेशी लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । 


सन्दीपले लिगमा मात्र नभइ नेपालका लागि पनि सानदार प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट नतिजा हासिल गर्नुमा सन्दीपको पनि अहम् भूमिका छ । 

सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट हुनुमा पनि उनको पनि त्यत्तिकै महत्वपूर्ण योगदान रह्यो । पछिल्लो एक वर्षको अवधिमा नेपाली क्रिकेटले राम्रो गर्नुमा मुख्य प्रशिक्षक मोन्टी देसाईको त्यत्तिकै ठूलो योगदान रह्यो । 


हेड कोच देसाईले खेलाडीको क्षमताअनुसार जिम्मेवारी दिए । खेलाडीले पनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे । मोन्टीको पहलमा केही प्रतिभाशाली नेपाली खेलाडीले आईपीएलको आगामी संस्करण खेल्न पाउने धेरैको आकलन पनि थियो । 
केही खेलाडीले अक्सनमा नाम पनि दर्ता गराए । तर, दुर्भाग्य यसपटक नेपालका कुनै पनि खेलाडी आइपिएल अक्सनको अन्तिम सूचीमा अटाएनन् । नेपाली खेलाडी अक्सनको सर्ट लिस्टमा नपरेपछि प्रशिक्षक देसाई केही अचम्ममा परेका छन् । 

नेपाली क्रिकेटर अक्सनको सर्ट लिस्टमा पनि नपरेपछि उनले आइपिएलका क्लब मालिकलाई कम्तीमा एकपटक नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । नेपाली क्रिकेटले सीमित स्रोत–साधनका बाबजुद अन्तर्राष्ट्रिय क्रिकेटमा कसरी एकपछि अर्को सफलता हात पारिरहको छ भन्ने कुरा बुझ्न मोन्टीले आइपिएलका क्लब मालिकलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

‘नेपालमा क्रिकेट निकै लोकप्रिय खेलको रूपमा विकास भइरहेको छ । नेपालले छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलताहरू हात पारेको छ । यस्तो स्थितिमा नेपाली क्रिकेटको स्तरलाई अझ माथि उठाउनु हाम्रो पनि दायित्व हो,’ हाल भारतमा रहेका हेड कोच मोन्टीले पत्रकारसँग भनेका छन्, ‘म आइपिएल क्लबका मालिकहरूलाई नेपाली क्रिकेटलाई नजिकबाट बुझ्न कम्तीमा एकपटक नेपाल भ्रमणका लागि अनुरोध गर्छु । नेपाली क्रिकेटलाई नजिकबाट नियालेपछि आइपिएल क्लबका मालिकहरू पक्कै पनि प्रभावित हुनेछन् । एउटा असल छिमेकी हुनुको नाताले नेपाली क्रिकेटलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।’  

देसाईले आइपिएलमा आबद्ध फ्रेन्चाइज क्लबका लागि अमेरिकाभन्दा नेपाल फाइदाजनक गन्तव्य हुनसक्ने धारणा पनि व्यक्त गरेका छन् ।    

Comments