- Get link
- X
- Other Apps

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यम बन्द गरी नियमनपछि मात्र सञ्चालनको माग राख्दै नेपाल समाजवादी मोर्चाका संयोजक एवं अधिवक्ता युवराज पौडेल ‘सफल’ले सरकारलाई निवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बिहीबार पत्र लेख्दै उनले सामाजिक सञ्जालका माध्यमलाई बन्द गर्ने र नियमन गरिसकेपछि मात्र सञ्चालन गर्नुपर्ने माग राख्दै निवेदन पेस गरेका हुन् ।
सामाजिक सञ्जाल विशेषगरी फेसबुक आईडीबाट विभिन्न अपराधका घटना बढिरहेको र नक्कली अकाउन्टबाट हुने घटनामा दोषीलाई आवश्यक कारबाहीको दायरामा ल्याउन समस्या हुने गरेको उनले उल्लेख गरेका छन् ।
"यदि नेपालमा फेसबुक चलाउनै पर्ने भए फेसबुकको मातृ कम्पनी मेटालाई कानून तथा करको दायरामा ल्याई नेपाली फेसबुक प्रयोगकर्तालाई आधिकारिक कागजात र विवरण राखेर मात्र फेसबुक अकाउन्ट खोल्न मिल्ने व्यवस्था मिलाउने गरी मात्र फेसबुक सञ्चालन गर्ने गराउने गरी आवश्यक व्यवस्था मिलाउन माग गर्दछौं," उनले निवेदनमा लेखेका छन्, "हाल नेपालमा युट्युबमार्फत विभिन्न व्यक्तिहरूले युट्युब च्यानल खोली आपराधिक सोच बढाउने, विकृति विसङ्गति निम्त्याउने, चरित्र हत्या गर्ने, झुटा रिपोर्ट, समाचार आदि बनाउने, भ्रम सिर्जना गर्ने लगायतका कार्य गरेकोले युट्युब च्यानललाई समेत कानुन एवम् करको दायरामा ल्याएर मात्र सञ्चालन गर्नु आवश्यक छ ।"
त्यस्तै युट्युब च्यानल खोल्न सम्बन्धित व्यक्तिले आफ्नो आधिकारिक कागजात तथा व्यक्तिगत विवरण राखी नेपाल सरकारको निकायमा दर्ता गरेर मात्र चलाउन सक्ने व्यवस्था मिलाउन उनले माग राखेका छन् ।

त्यो व्यवस्था मिलाउनु अघि फेसबुक, युट्युब र इन्स्टाग्रामलाई तत्काल बन्द गरी निश्चित मापदण्ड बनाई सो पश्चात् मात्र सञ्चालन हुने व्यवस्था मिलाउन हुन उनले सञ्चार मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै बिना पहिचानको फेसबुक अकाउन्ट, युट्युब च्यानल र इन्स्टाग्राम अकाउन्ट तत्काल डिलिट गर्ने व्यवस्था मिलाउन उनले अनुरोध गरेका छन् । यसअघि पनि सफलले टिकटक प्रतिबन्ध गर्नुपर्ने मागसहित सञ्चार मन्त्रीलाई निवेदन पठाएका थिए ।
पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० ०८:००



- Get link
- X
- Other Apps
Comments
Post a Comment