ओमानविरुद्ध सन्दीपलाई विश्वकीर्तिमान बनाउने मौका

 

फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपाधिका लागि नेपाल र ओमान खेल्दै छन् । यी दुई टिमबीचको खेल आइतबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित टियू ग्राउन्डमा सुरु हुनेछ । 

अर्को वर्षको जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाएपछि नेपाल र ओमानले छनोट प्रतियोगिताको फाइनल खेल्ने मौका पाएका हुन् । नेपाल शुक्रबार यूएईलाई ८ विकेटले हराउँदै दोस्रोपटक विश्वकपमा पुग्यो ।

यसअघि नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो । ओमानले भने बहराइनलाई १० विकेटले हराएर तेस्रोपटक विश्वकपको टिकट काट्यो । 



ऊ फाइनलमा पनि नेपाललाई हराउँदै ट्रफी लैजाने सोचमा छ । नेपाल समूह चरणको हारको बदला लिँदै ओमानलाई निराश बनाएर ट्रफी घरमै राख्ने रणनीतिमा छ । ग्रुप स्टेजको अन्तिम खेलमा नेपालले ओमानसँग ५ रनको अप्रत्यासित हार बेहोरको थियो । नेपाल यसपटक सो खेलमा गरेको गल्ती सुधार गर्दै ओमानलाई हराउन तयार छ ।  

सन्दीपसामु विश्वकीर्तिमान बनाउने मौका



ओमानविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने पनि मौका छ । उनीसामु ओमानसँगको खेलमा टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाउने मौका रहेको हो । 

सन्दीपले अहिलेसम्म ५१ खेलमा ६.२७ को इकोनमीमा ९६ विकेट लिएका छन् । यदि ओमानविरुद्ध ४ विकेट लिन सके उनले वर्ल्ड रेकर्ड बनाउने छन् । हालसम्म टी–२० मा सर्वाधिक छिटो १ सय विकेट लिने कीर्तिमान अफगानिस्तानका स्टार राशिद खानको नाममा छ ।  

उनले ५३ खेलमा यो उपलब्धि हासिल गरेका थिए । यस्तै, यो सूचीको दोस्रो र तेस्रो स्थानमा क्रमशः श्रीलंकाका लसिथ मलिंगा र न्यूजिल्याण्डका इश सोढी रहेका छन् । 

मलिंगाले ७६ र सोढीले ७८ खेलमा १ सय विकेट लिएका थिए । सन्दीपले राशिदको रेकर्ड भंग गर्न नसके पनि मलिंगा र सोढीलाई भने पछि पार्ने पक्काजस्तै छ । एकदिवसीय अन्तर्राष्ट्रियमा भने सन्दीप सर्वाधिक छिटो १ सय विकेट लिने बलर हुन् । उनले ४२ ओडिआई म्याचमा १ सय विकेट पूरा गरेका थिए । 

सन्दीपले राशिद खानलाई पछि पार्दै सो विश्वकीर्तिमान बनाएका हुन् । यसपटक टी–२० मा पनि उनीसामु राशिदलाई नै पछि पारेर सर्वाधिक छिटो १ सय टी–२० विकेट लिने विश्वकीर्तिमान बनाउने मौका छ ।  

Comments