गुलशन झाले यू-१९ एसिया कप र विश्वकप खेल्ने

 

फाइल तस्बिर

राष्ट्रिय क्रिकेट टिमका युवा अलराउन्डर गुलशन झाले आसन्न संस्करणको यू–१९ एसिया कप र यू–१९ विश्वकप खेल्ने भएका छन् । तत्काल सिनियर टिमले ठूला प्रतियोगिता खेल्ने तालिका नभएकाले गुलशनले उमेर समूहको क्रिकेट खेल्ने भएका हुन् । त्यसका लागि उनी अहिले त्रिवि मैदानमा यू–१९ टिमसँगै बन्द प्रशिक्षणमा व्यस्त छन् ।  

गुलशनको पुनरागमनले नेपालको यू–१९ टोली थप बलियो बनेको छ । उनी नेपालको उमेर समूह टोलीका सर्वाधिक अनुभवी खेलाडी हुन् । यसअघि गुलशनले २०२१ मा भएको यू–१९ एसिया कप खेलेका थिए ।

उनलाई गत वर्ष आइसिसी यू–१९ विश्वकप छनोटमा पनि टिम कप्तानको जिम्मेवारी दिइएको थियो । तर, सोही समय सिनियर टोलीको प्रतियोगिता भएका कारण उनले उक्त विश्वकप छनोट खेलेनन् ।  

१८ वर्षीय गुलशनले हालसम्म २४ एकदिवसीय र १४ टी–२० खेल खेलेका छन् । उनले एकदिसीयमा २१ विकेट लिनुका साथै ४ सय ८८ रन बनाएका छन् । यो प्रारूपमा गुलशनको नाममा तीन अर्धशतक छ । यस्तै, उनले १४ टी–२० अन्तर्राष्ट्रिय खेलमा १२ विकेट लिएका छन् । गुलशनले यो ढाँचामा एक अर्धशतकको सहयोगमा १४१ रनसमेत बनाएका छन् ।



पछिल्लो समय उनी राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य बनेका छन् । भारत, पाकिस्तान, वेस्ट इण्डिज, जिम्बाब्वेलगायत ठूला टिमविरुद्ध खेलिसकेको अनुभव प्राप्त गरेका गुलशनले यू–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमा समर्थक आशावादी छन् ।  

नेपालले एसिया कप र विश्वकप दुवैमा बलियो प्रतिद्वन्द्वी पाएको छ । यू–१९ एसिया कप आउँदो ८ डिसेम्बरदेखि यूएमा आयोजना हुनेछ । जहाँ नेपाल समूह ‘ए’ छ । समूह चरणमा नेपालले नेपाल, पाकिस्तान र अफगानिस्तानको सामना गर्नेछ । एसिया कपमा नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तान, १० डिसेम्बरमा अफगानिस्तान तथा १२ डिसेम्बरमा भारतसँग खेल्ने तालिका छ ।  



यस्तै, नेपालले आउँदो १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा पनि सहभागिता जनाउनेछ । नेपाल समूह चरणमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग भिड्नेछ । विश्वकपमा नेपालले १३ जनवरीमा न्यूजिल्याण्ड, १७ जनवरीमा पाकिस्तान र २० जनवरीमा अफगानिस्तानसँग खेल्ने तालिका छ ।  

Comments