मध्यरातमा झरनाको भावुक स्टाटस–‘फिल्म चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको छ’

 

निर्देशक झरना थापाले फिल्म ‘एक भागवत् गीता’ चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको भन्दै दुःख पोखेकी छिन् । मध्यरातमा स्टाटस कोर्दै उनले आफ्नो सारा श्रोत, सम्पत्ती, सपना खर्चिएर बनाएको फिल्म चल्नै नदिने अवस्था आउँदा पीडा भैरहेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन्–‘थाहा छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन । सत्य बोलिरहँदा पनि, सहि छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवान्ले गर्नु होला नी होइन ?’

झरनाले तीन दशकदेखि यही क्षेत्रमा आफू अनवरत रुपमा लागिरहेको उल्लेख गर्दै लेखेकी छिन्–‘फिल्मको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर फिल्मको नाम एक भागवत् गीता राख्यौं । मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांकृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म गरेको छैन ।’

तर, फिल्मको नाम ‘एक भागवत् गीता’ राखेर दर्शकसम्म पुर्याउने बेलामा प्रश्न उठाइएको झरनाले उल्लेख गरेकी छिन् । फिल्मको सम्पूर्ण कथा सार नै वुझाइसकेपछि आज आएर नाममा विवाद भएको भन्दै झरनाले आफूहरुले भागवत् गीताको कुनै पनि कोणबाट अपहेलना नगरेको पनि बताएकी छिन् । 

केही धार्मिक संगठनलले फिल्मको नाम नै हटाउनुपर्ने चेतावनी दिएपछि चलचित्र विकास बोर्डले यो फिल्मलाई सेन्सरका लागि अनुमति दिएको छैन । आज आइतबार यो बिषयको निर्णय हुने वुझिएको छ । 

तर, फिल्म रिलिजका लागि एक साता पनि बाँकी नरहेको अवस्थामा यो फिल्मको टिम अनिर्णयको बन्दी बनेको छ । चलचित्र विकास बोर्डले पनि सही निर्णय गर्न सकिरहेको छैन । 

 

Comments