पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ८७ रनमै गर्‍यो अलआउट

पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ८७ रनमै गर्‍यो अलआउट

हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा नेपालले पाकिस्तान ‘ए’ लाई ८७ रनमै अलआउट गरेको छ । मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर फिल्डिङ रोजेको नेपालले पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा अलआउट गरेको हो ।



पाकिस्तानका लागि शवाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, सदफ शामसले १२ र गुल फिरोजाले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।



नेपालका लागि बलिङमा इन्दु बर्माले ३ ओभरमध्ये एक मेडन फाल्दै ६ रन मात्र दिएर ३ विकेट लिइन् । यस्तै, कविता जोशी र सीता राना मगरले ४ ओभरमा समान १६ रन कुर्चिँदै महत्वपूर्ण २/२ विकेट हात पारे ।   



यस्तै, कविता कुँवरले ३.२ ओभरमा १२ रन दिएर २ विकेट नै लिइन् । थाइल्याण्डले भिसा समस्या देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले पहिलोपटक महिला एसिया कप खेलिरहेको हो । नेपाल आज पाकिस्तानलाई स्तब्ध पार्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । 



एसिया कपका लागि हङकङ जानुअघि नेपालले मलेसियाविरुद्धको पाँच खेलको सिरिज ३–२ ले जितेको थियो । एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किंदै नेपालले सिरिज जितेको हो ।

नेपाली टोली मलेसियामा देखिएका कमजोरी सुधार गर्दै एसिया कपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ । समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताअन्तर्गत दोस्रो खेल बिहीबार भारत ‘ए’ सँग खेल्नेछ । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार हङकङको सामना गर्ने तालिका छ ।   



प्रतियोगिताको अर्को समूहमा मलेसिया, यूएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । सेमिफाइनल १९ र फाइनल खेल २१ जुनमा हुनेछ । 

नेपालको प्लेइङ–११ : रुबिना क्षेत्री (कप्तान) सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, सम्झना खड्का र ज्योति पाण्डे ।


Comments