महिला एसिया कपमा श्रीलंकाको विजयी सुरुवात, नेपालको खेल मंगलबार

 महिला एसिया कपमा श्रीलंकाको विजयी सुरुवात, नेपालको खेल मंगलबार


श्रीलंका ‘ए’ ले महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको समूह ‘बी’ को खेलमा यूएईविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले विजयी सुरुवात गरेको हो । 



यूएईले दिएको ९६ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि विष्मी गुणरत्नेले २१,  इमेषा दुलानीले १५, कौशिनी नुथ्याङ्गनाले १४, निलक्षण सन्दामिनीले १२, मधुसिका मेथ्तानन्दले अविजित ११ र उमाशा थिमेसानीले १० रन बनाए । 



यूएईका लागि इन्धुजा नन्दाकुमार र ईशा ओजाले सर्वाधिक २/२ विकेट लिए । त्यसअघि हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएई १९.३ ओभरमा ९५ रनमै अलआउट भयो ।



उसका लागि ईशा ओजाले ३९, तीर्था सतीशले १६ र खुसी शर्माले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 



श्रीलंकाका लागि मधुसिका मेथ्तानन्दले ३.३ ओभरमा १६ रन दिएर सर्वाधिक ४ विकेट लिइन् । प्रतियोगितामा नेपालले पहिलो खेल मंगलबार पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल बिहान ६ः४५ देखि सुरु हुँदैछ ।  

थाइल्याण्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि उसको स्थानमा नेपालले मौका पाएको हो । समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान ‘ए’ र आयोजक हङकङ रहेका छन् ।



समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया छन् ।     


Comments